बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ ।
आगो निभाउन ५० युनिटलाई परिचालन गरिएको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको जनाएको छ ।
इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली समेत खटाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार केही ब्यापारीहरुले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानतर्फ गएको देखिए पनि केहीले आफ्ना सामान जोगाउन नसकेको समाचारमा उल्लेख छ ।बंगबजार बिभिन्न खालका कपडा पाइने बजारको रुपमा परिचित छ । त्यहाँ आगो लाग्नुको कारण खुलेको छैन । आगो तीव्ररुपमा फैलिएकाले मानिसको हताहती भए/नभएको पनि एकीन छैन । आगो निभाउनका लागि बजार क्षेत्र वरपरका सडकमा यातायात सेवा बन्द गरिएको छ ।







