२९ असोज, बिर्तामोड । झापा बिर्तामोड–७ देउनियाधाममा आज फरक किसिमले जन्मदिन मनाइएको छ । अमेरिकामा बस्दै आएका मदन र राधिका भट्टराईकी छोरी दिक्षाले ज्येष्ठ नागरिकलाई सम्मान गरेर जन्मदिन मनाएकी हुन् ।
चार वर्षको बालावस्थामा अमेरिका पुगेकी दिक्षाले आफ्नो १४औं जन्मोत्सव जन्मथलो बिर्तामोड–७ देउनियाधाममा ज्येष्ठ मातापितालाई सम्मान गरेर जन्मदिन मनाएकी हुन् । अमेरिकामा कक्षा–९ मा अध्ययनरत दिक्षा नेपाली संस्कार–संस्कृतिप्रति लगाव राख्छिन् । सोही क्रममा नेपाल आएपछि आफूले ज्येष्ठ अभिभावकहरुको सम्मान गरेर जन्मदिन मनाउने सोच बनाएको र सोही अनुरुप आज जन्मदिन मनाइएको उनका काका भरत भट्टराईले बताए ।
९५ वर्षीय रवीलाल निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा २७ जना ज्येष्ठ मातापितालाई सम्मान गरिएको थियो । उनीहरुलाई दिक्षाले दोसल्ला र माला पहि¥याएकी थिइन् ।
कार्यक्रममा भट्टराई कुलवंश प्रतिष्ठान झापाका अध्यक्ष धमेन्द्र भट्टराई (मामा), राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल, प्याब्सनका केन्द्रीय सदस्य नारायणप्रसाद घिमिरे लगायतले मन्तव्य राखेका थिए । उनीहरुले ज्येष्ठ–अग्रजहरुको सम्मान गर्न सके मात्र समाज समुन्नत हुने बताए । ज्येष्ठहरुबाट अगामी पुस्तामा संस्कार, संस्कृति, ज्ञान–सीप हस्तान्तरण हुनुपर्नेमा उनीहरुको जोड थियो ।







