सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेश पूर्ण रुपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले मधेश प्रदेशको लाइफलाइनको रूपमा रहेको हुलाकी राजमार्गमा बजेट थोरै विनियोजन गरेको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न पनि अर्थमन्त्री जनार्दन शर्मालाई दबाब दिए।
सांसद यादवले मधेश प्रदेशलाई दिने अनुदानसमेत गठबन्धन सरकारले घटाएर संघीयतामाथि नै धावा बोल्ने काम गरेको आरोपसमेत लगाए।
उनले भने, ‘यो बजेटमा मधेश प्रदेश पूर्ण रुपमा ठगिएको छ भन्ने महशुस गरिएको छ। हुलाकी सडक मधेश प्रदेशको लाईभलाईन हो। र हुलाकी सडकमा थोरै बजेट राखिएको छ। जबकी धेरै पुलहरु, सडकहरु बनाउन बाँकी नै छ। त्यसकारण अर्थ मन्त्रीजीको, यो सरकारको यसमा ध्यान जाओस् कि यो मधेश प्रदेशको लाईफलाईन हो हुलाकी राजमार्ग। र, त्यसमा जुन बजेट राखिएको छ। एकदमै थोरै छ । त्यसमा पुनर्विचार होस्।’
सांसद यादवले बजेटमा कुनै पनि खास योजना मधेश प्रदेशको लागि नछुट्टयाएको भन्दै पुनर्विचार गर्न पनि सरकारसँग मागसमेत गरे।







