काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले विश्वका ४५ लाख मानिसले कोभिड १९ का कारण ज्यान गुमाएकाप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ ।
संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गर्दै खड्काले महामारीका कारण आफ्नो प्रियजन गुमाएका विश्वभरका नेताहरुप्रति गहिरो संवेदना व्यक्त गर्नुभएको हो ।
खड्काले खोप असमानताको खाडल धेरै गहिरो रहेकाले कम आय भएका देशहरुमा प्रतिकूल सामाजिक-आर्थिक प्रभाव छोडेर भ्याक्सिनलाई जनताको जीवनको हितको लागि सार्वजनिक सामानको रुपमा घोषणा गर्नुपर्ने बताउनुभयो ।
उहाँले कोभिड १९ बाट उत्पन्न चुनौतीको सामना गर्न राष्ट्रसंघले खेलेको भुमिकाको प्रशंसासमेत गर्नुभयो ।
खड्काले सम्बोधनका क्रममा जनताको जीवन सरकारको पहिलो प्राथमिकता भएकाे बताउँदै हालसम्म नेपालका २० प्रतिशत जनतालाई कोभिड १९ विरुद्धको खोप लगाइसकेको जानकारी दिनुभयो ।
खड्काले ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भएपनि आफ्नो देशले जलवायु परिवर्तनको असर भने ठूलो भोगिरहेको बताउनुभयो । नेपालले ६३ वर्षदेखि शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा निरन्तर योगदान दिएको स्मरण गर्दै सबैभन्दा धेरै शान्ति मिसनमा सेना पठाउनेमा नेपाल पनि एक रहेको बताउनुभयो ।
खड्काले बहुपक्षीय र राष्ट्रिय हितका विभिन्न मुद्दाहरुमा नेपालको स्थितिलाई उजागर गर्नुभएको छ ।







