काँकरभिट्टा ।मेचीनगरको साविक बाहुनडाँगीका खानेपानी उपभोक्ताहरुले झरनामा नुहाउन आउने आन्तरिक पर्यटकका कारण आफूहरु दूषित पानी पिउन बाँध्य हुनु परेको गुनासो गरेका छन् ।
केहीदिनदेखि इलामको रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाकोे सीमानामा रहेको पर्यटकिय स्थल झरनामा नुहाउन र मनोरञ्जन गर्न पुग्ने आन्तरिक पर्यटकहरुका कारण बाहुनडाँगीका खानेपानी आयोजनाहरु प्रदूषित भएको भन्दैं पदाधिकारी र उपभोक्ताहरुले गुनासो गरेका हुन् ।
मेचीनगर १ र २ का केही भाग साविक बाहुनडाँगीमा साना तथा ठूला गरी करिब १९ वडा खानेपानी आयोजना सञ्चालित छन् । मेचीनगर —१ को सिरानमा पर्ने तिरिङ खोला र निन्दा खोलाको मुहानमा पछिल्लो समय आन्तरिक पर्यटकहरु ठूलो संख्यामा नुहाउन जाने गरेका छन् ।
ती आयोजनाका मुहानमा आन्तरिक पर्यटकहरु रमाउने नाममा फोहोर मैला गरिदिँदा दूषित पानी पिउन उपभोक्ता बाध्य भएको बाहुनडाँगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सनतकुमार अधिकारीको भनाई छ ।
अध्यक्ष अधिकारीले मुहान दूषित हुँदा उपभोक्ता पानी खान नसक्ने अवस्थामा पुगेको बताउदैं उपभोक्तालाई शुद्ध पानी वितरण गर्नु समितिको पहिलो दायित्व भएको भए पनि समितिले नसकेको दुखेसो व्यक्त गर्नुभयो । पर्यटन विकासलाई व्यवस्थित नगर्ने हो भने उपभोक्ता प्रतिकारमा उत्रने उहाँले चेतावनी दिनुभएको छ ।

मेचीनगरभित्र पर्ने बाहुनडाँगी, निन्दाटार, नन्दा, सन्देशी, नयाँ चावघारी,गोकुल गैरी, तिरिङ र साम्पाङ्गे खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका पदाधिकारी र उपभोक्ताहरुले आफूलाई स्वच्छ र सफा पानी पिउने वातावरण मिलाईदिन मेचीनगर नगरपालिकासँग माग गरेका छन् ।
बाहुनडाँगी, निन्दाटार, नन्दा, सन्देशी, नयाँ चावघारी,गोकुल गैरी, तिरिङ र साम्पाङ्गे खानेपानी सबै आयोजनाको मुहान भने त्यही झरनाको पानी हो । झरनामा नुहाउन जाने आन्तरिक पर्यटकहरुले जथाभावी फोहोरमैला गर्दा साविक बाहुनडाँगीका साना तथा ठूला खानेपानी आयोजना प्रभावित भएको सम्बन्धित उपभोक्ता समितिलहरुले जनाएका छन् ।
पर्यटकीय गन्तव्यलाई व्यवस्थित गरेर शुद्ध पानी वितरणमा पहल गरिदिन स्थानीय सरकार मेचीनगरलाई आयोजनाहरुले आग्रह गदैं मुहानमा फोहोर गरिदिँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको स्थानीय उपभोक्ता तिलजा देवानले यहाँका हरेक खानेपानीका उपभोक्राहरुले दिसापिसाव खाइरहनु परेको दुःख व्यक्त गर्नुभयो ।







