असार १७, बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका व्यवसायिक कृषक तथा कृषक समूहलाई मेसिन औजार, कृषि सामग्री, विषादी एवम् विउ बोको हस्तान्तरण गरेको छ ।
बिर्तामोड नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा र कृषि विकास शाखाको आर्थिक वर्ष २०७७र०७८ को स्वीकृत कार्यक्रम अनुरुप उक्त सामग्री प्रदान गरिएको हो ।
कृषि विकास शाखाका प्रमुख राजेन्द्र कडरियाका अनुसार व्यवसायिक तरकारी उत्पादनमा क्रियाशील ६० जना किसानका लागि १३ लाख ७० हजार रुपैयाँका सामग्री हस्तान्तरण गरिएको छ ।
एक लाख ५० हजार रुपैयाँको ६० वटा विषादी छर्कने स्प्रे, एक लाख ७० हजार रुपैंयाँको किटनाशक विषादी, ६० वटा टनेल बनाउने सिलकोलिन प्लाष्टिक तीन लाख रुपैयाँको तथा १२५ वटा मल्चिङ सात लाख ५० हजार रुपैयाँमा खरिद गरी किसानलाई प्रदान गरिएको हो ।
यसैगरी पशुपंक्षी तथा मत्स्य विकास शाखाबाट मेयर ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तरगत चारवटा बोयर जातको बोको कृषक समूहलाई हस्तान्तरण गरिएको छ । शाखा प्रमुख विष्णुप्रसाद भट्टराईका अनुसार ७५ प्रतिशत बोयर जातको बोको विभिन्न चारवटा कृषक समूहका लागि प्रदान गरिएको हो ।
नगरपालिकाले सहारा नेपाल साकोससँगको साझेदारीमा साइलेज बनाउने एकथान मेसिन ९च्यापकटर०पनि किसानलाई हस्तान्तरण गरेको छ । बिर्तामोड वडा नं। ७ स्थित पशुपालक कृषक समूहको २० प्रतिशत लागत साझेदारीमा १० लाख ५० हजार मूल्य बराबरको उक्त मेसिन प्रदान गरिएको हो ।
आज बिहान नगरपालिकाको प्राङ्गणमा नगर उपप्रमुख पवित्रा महतरा प्रसाईंको अध्यक्षतामा विशेष कार्यक्रमको आयोजना गरी किसानलाई ती सामग्रीहरु हस्तान्तरण गरिएको हो । नगरप्रमुख ध्रुबकुमार शिवाकोटी, उपप्रमुख प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाललगायतले किसानहरुलाई सामग्रीहरु हस्तान्तरण गर्दै व्यवसायमा अब्बल बन्नका लागि प्राप्त कृषि औजार सामग्रीहरुको अधिकतम लाभ लिन आग्रह गरे ।
कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख शिवाकोटीले बिर्तामोडलाई अग्र्यानिक सागसब्जी खाने नागरिक बस्ने क्षेत्र बनाउन जनप्रतिनिधिहरु हरतरहले लागिरहेको दावी गरे । उनले स्वस्थ जीवन योग अभियानको नारा दिएर आगामी आर्थिक वर्षमा योग शिविरहरु लिएर नगर क्षेत्रका घरघरमा पुग्ने कार्यक्रम बनाइएको पनि जानकारी गराए ।







