रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वासकाे प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, कांग्रेसलगायत दलका ४० सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
८७ सदस्यीय प्रदेश सभामा अहिले जना मात्रै सदस्य रहेका छन् । मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खानले जानकारी दिनुभयो ।
अविश्वासको प्रस्ताव दर्ता गर्न माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी, नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दित खान, जसपाका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाका नेता तारा जिसी प्रदेश सभा सचिवालय पुग्नुभएको थियो ।
यसअघि वैशाख ६ गते पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको थियो । तर वैशाख १९ गते विशेष अधिवेशन डाकिएको दिन बिहान मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको थियो । मुख्यमन्त्रीले राजीनामा दिएको भन्दै त्यही दिन सरकारले अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशनको सान्दर्भिकता सकिएको भन्दै अन्त्य गरेको थियो ।
राजीनामा गरेकै दिन प्रदेश प्रमुख धर्मनाथ यादवले पाेखरेललाई संविधानको धारा १६८ को १ बमोजिम मुख्यमन्त्रीमा पुनः नियुक्ति गर्नुभएको थियो । तर विपक्षी दलहरूले भने अल्पमतमा रहेका पोखरेललाई संविधानको बर्खिलाप मुख्यमन्त्री नियुक्त गरेको भन्दै विरोध गर्दै आएका थिए ।







