इलाम । चियाको राजधानी भनेर चिनिने इलाममा कफि खेती पनि विस्तार हुन थालेको छ । यहाँका कृषक समूहगत रूपमा र व्यक्तिगत रूपमा पनि कफी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाका दक्षिणी र पश्चिमी क्षेत्रमा यसको खेती विस्तार बढ्दो छ । नेपाल चिया तथा कफि विकास बाेर्डको तथ्याङ्कअनुसार इलाममा ९ सय २० कृषक आबद्ध छन् ।
केहि वर्षअघि सुरु भएको कफि खेती विस्तार हुँदै अहिले ९१ हेक्टर क्षेत्रफल पुगेको छ । जिल्लाको कूल उत्पादन वार्षिक २० मेट्रिक टन रहेको छ । जिल्लामा ३० हजार हेक्टरमा कफि खेती विस्तार गर्न सकिने बाेर्डको तथ्याङ्क छ । इलाममा कफि खेती विकासको सम्भाव्यता अध्ययन गर्दै विरुवा उत्पादन र खेती विस्तारको पहल थालिएको चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले बताउनुभयो ।
इलामको माटो कफि खेतीकालागि अब्बल रहेको सरोकारवालाको भनाइ छ । कफि खेती ८ सय देखि १६ सय मिटरसम्म गर्न सकिन्छ । कृषकस्तरबाट कफि खेती थालिए पनि बाेर्डले अहिले सम्म ठोस कार्यक्रम ल्याउन नसक्दा कृषक समस्यामा छन् । चालु आर्थिक वर्षमा बाेर्डले खेती विस्तारका लागि कार्यक्रम ल्याएको हो ।







