काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने वैशाख २७ को तिथि नजिकिँदै गर्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेभित्रको विवाद पनि निर्णायक मोडमा उभिएको छ ।
पार्टीभित्रको विवाद उत्कर्षतिर अभिमुख हुँदै गर्दा दोस्रो तहका नेताहरू विवाद साँघुर्याउन कसरत गरिरहेका छन् । स्थायी कमिटी सदस्य तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दोस्रो तहका नेताहरू आज पनि छलफलमा जुट्ने जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटामार शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीतर्फबाट अर्थमन्त्री विष्णु पौडेल, उपनेता नेम्वाङ र प्रधानमन्त्रीको मुख्य सल्लाहकार विष्णु रिमाल छलफलमा थिए । नेता माधवकुमार नेपालकातर्फबाट घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई वार्तामा थिए ।
वार्तामा सहभागी नेताहरूका अनुसार ओली पक्षसँग मूर्त प्रस्ताव छैन । वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाल समूहले अदालतको फैसलाअनुसार २०७५ जेठ २ अर्थात् पार्टी एकतापूर्वको अवस्थामा फर्कनुपर्ने बटम लाइन अघि सारेको छ ।
ओली पक्षले २०७५ जेठ २ होइन अदालतको तत्कालीन नेकपाको विवादका बेला आफूहरूले गरेका निर्णय मात्रै होइन, अदालतको फैसलापछिका, विशेषतः फागुन २८ पछिका निर्णयसमेत स्वीकार्नेगरी सहमति खोज्नुपर्ने अडान तेर्स्याएपछि शुक्रबारको छलफल निष्कर्षविहीन बन्न पुग्यो ।







