झापाको बिर्तामोड-७ स्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहद्वारा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी र आँगन एफएमका प्रवन्ध निर्देशक इन्द्रजीत मुखिया सम्मानित भएका छन् ।
वन उपभोक्ता समूहको ११ औं वार्षिक साधारण सभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखियालाई दोसल्ला ओढाएर नगद र कदरपत्रसहित सम्मान गरिएको हो ।
सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूह तथा यस क्षेत्रभित्र अवस्थित सहिद नेत्र पार्क तथा पर्यटकीय सिमसारको पर्यटन प्रवद्र्धन, विकास र प्रचारप्रसारमा पुर्याएको उल्लेखनीय सहयोग, सकारात्मक भूमिका र निरन्तर योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको वन उपभोक्ता समूहले जनाएको छ ।
वन उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईं, विशेष अतिथि बिर्तामोड ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल अविरलले सम्मान गरेका थिए ।
कार्यक्रममा वन उपभोक्ता समूहका ज्येष्ठ सदस्यहरु डिल्लीराम भट्टराई, भक्तिप्रसाद उप्रेती र मानविर खड्कालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने दामोदर न्यौपाने, दिलबहादुर लिम्बू, तुलसी सिटौला, बलबहादुर माबुहाङ, सुकजित लिम्बू र यदुजित नेपाललाई कदरपत्र प्रदान गरिएको थियो ।
वन उपभोक्ता समूहका अध्यक्ष लिम्बूले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष इश्वरा भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा नगर प्रमुख प्रसाई, वडाध्यक्ष खरेल, वडा सदस्य हेमलता विश्वकर्मा ,वन उपभोक्ता महासंघ बिर्तामोडका अध्यक्ष राजन निरौला, सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष तथा सल्लाहकार सदस्य रेनुका उप्रेती, लेखा संयोजक रामप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वन उपभोक्ता समूहका उपाध्यक्ष मंगलसिंह साँवाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव इन्दिरा अधिकारी बाँस्कोटाले गरेकी थिइन् ।







