बालबालिकामा देखिने विभिन्न स्वास्थ्य समस्यामध्ये एक हो, पिसाबको संक्रमण । सामान्यतया बालबालिकामा हुने पिसाबको संक्रमण भन्नाले मुत्रनलीको संक्रमण भन्ने बुझिन्छ । यसलाई औषधि विज्ञानको भाषामा ‘युरिनरी ट्र्याक इन्फेक्सन (यूटीआई)’ भन्ने गरिएको छ ।
बालबालिकाको उमेर जति सानो भयो, संक्रमण हुने सम्भावना पनि त्यति नै हुने मिर्गौला रोग विशेषज्ञ डा.वेश अन्सारी बताउँछन् । उनका अनुसार एक वर्ष उमेर समूहका बालबालिकामध्ये बालकमा यो समस्या बढी देखिन्छ ।
केटाकेटीलाई लगाइदिने डायपरको प्रयोग सही तरिकाले नभएको खण्डमा संक्रमण निम्त्याउन सक्छ । डायपरको अत्याधिक प्रयोगले बच्चाको यौनांग गुम्सिने र पिसाबको संक्रमण हुनसक्ने खतरा बढ्छ । यसका साथै सरसफाइमा कमी, र कब्जियतका कारण पनि बालबालिकामा पिसाबको संक्रमण हुनसक्छ ।
मुख्य कारणहरू
ब्याक्टेरियाको संक्रमण : दिसाको द्वारबाट ब्याक्टेरिया सजिलै छोटो मूत्रमार्ग हुँदै भित्र छिर्छन् ।
कम पानी पिउनु : कम पानी खाँदा पिसाब कम लाग्छ र नलीमा जम्मा भएका कीटाणु बाहिर निस्कन पाउँदैनन् ।
पिसाब रोक्नु : स्कुल वा खेल्ने बेलामा बालबालिकाले लामो समयसम्म पिसाब रोकेर राख्छन् ।
कब्जियत : पेट सफा नहुँदा वा कब्जियत हुँदा मूत्रनलीमा दबाब पर्छ र संक्रमणको जोखिम बढ्छ ।
सरसफाइमा कमी : बालिकाको दिसा धुँदा हात पछाडिबाट अगाडि लैजाँदा ब्याक्टेरिया सर्छ ।
शारीरिक बनावट : छालाको समस्या वा मूत्रमार्गको बनावटमा गडबड हुँदा पनि यो समस्या हुन्छ ।






