झापाको बिर्तामोड नगरपालिकाले आयोजना गरेको ‘बिर्तामोड रोजगार मेला’ आजदेखि अतिथि सदनमा सुरु भएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा भइरहेको मेलाको नगर प्रमुख पवित्रा महतारा प्रसाईं र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले रिबन काटेर उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नं.१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नं.२ का वडाध्यक्ष किशोर पौडेल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतहरूको उपस्थिति रहेको थियो।
रोजगार मेलामा डीडी सेक्युरिटी, दिया रिलाएबल, नेपाल लाइफ इन्स्योरेन्स, झापा प्राविधिक शिक्षालय, होटल व्यवसायी संघ, नेपाल भेनियर उद्योग संघ, बिर्तामोड जब सेन्टर, महिला उद्यमी समूह, ग्रिल तथा स्टिल व्यवसायी संघ, रोजगार नेपाल, नेपाल औषधि व्यवसायी संघ, इगल इन्टरनेसनल, कम्प्युटर एसोसिएसन नेपाल (क्यान), फायरउड वर्कर्स, त्रिशक्ति जब सेन्टर, निर्माण व्यवसायी संघ, डाइनामिक बिजनेस, मोबाइल एसोसिएसन, नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी), कनकाई एग्रो इन्जिनियरिङ, नेपाल कर सहयोगी श्रमिक संगठन, एमसीएचएस फर्म इन्डस्ट्रिज, अलैंची व्यवसायी संघ, गुडलक फ्लावर संघ तथा नागरिक सामुदायिक अस्पताल लगायत रोजगारदाताका स्टलहरू रहेका छन् ।
यसैगरी रोजगार सेवा केन्द्र, प्राथमिक उपचार केन्द्र र सोधपुछ कक्षलगायतका सेवा सम्बन्धी स्टलहरू पनि सञ्चालनमा रहेका छन् । मेलाका अवसरमा उद्योगी-व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको छ ।







