विश्व वातावरण दिवस २०२६ को अवसरमा झापाको बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकेडेमीमा रहेको न्युटन्स टुरिजम क्लबको आयोजनामा विराट पोखरी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
न्युटन्स बाल क्लब र न्युटन स्काउटका विद्यार्थीहरूको सक्रिय सहभागितामा आयोजित कार्यक्रममा स्थानीय धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित विराट पोखरी क्षेत्रको सरसफाई गरिएको थियो ।
उक्त कार्यक्रममार्फत वातावरण संरक्षण, सार्वजनिक स्थलको स्वच्छता तथा पर्यावरणीय सचेतनाको सन्देश प्रवाह गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।
सोही अवसरमा न्युटन्स बाल क्लबले विराट पोखरी सरोवर बहुउद्देश्यीय विकास समितिलाई एक थान डस्टबिन हस्तान्तरण गरेको थियो ।
सरसफाइ अभियानमा सहभागी विद्यार्थीहरूले वातावरण संरक्षण र सुरक्षाप्रति सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले जलवायु परिवर्तनका बढ्दो असर न्यूनीकरण गर्न वातावरणमैत्री व्यवहारलाई दैनिक जीवनमा अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनका प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विराट पोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्रप्रसाद प्रसाईंले स्वच्छ वातावरण निर्माण र प्रकृति संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताए ।







