झापाको भद्रपुरमा कानून व्यवसायी र कानूनका विद्यार्थीबीच ‘कानूनको अभ्यासमा एआईको प्रयोग’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
कानूनी ज्ञान केन्द्र भद्रपुरको आयोजना र मनमोहन इष्टिच्युट अफल विराटनगरको सहकार्यमा अन्तरक्रिया आयोजना गरिएको थियो ।
अन्तरक्रियामा ईन्जिनिर प्रकाश कोइरालाले कानूनको अभ्यासमा कसरी एआई उपयोगी सक्छ भन्ने प्रस्तुति दिएका थिए ।
आईटी विज्ञ कोइरालाले एआई परिचय, यसले गर्ने काम, उपयोगिता, सकारात्मक तथा नकारात्मक प्रभावलगायतका विषयमा जानकारी दिएका थिए । उनले कानून व्यवसायी तथा विद्यार्थीले एआईको प्रयोगबाट अधिकतम् फाइदा लिन सक्ने बताए । विज्ञ कोइरालाले कसरी सिर्जनशील कार्यमा उपयोगी हुन सक्छ भन्ने विषयमा प्रस्ट पारेका थिए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता लेखनाथ निरौलाले एआई उपपोगी साधन रहेकाले नव कानून व्यवसायीले अधिकतम लाभ लिन सक्नु पर्ने बताए । उनले प्रविधि सिक्ने कुरामा पुरानाले पनि प्रयास गर्नु पर्नेमा जोड दिए ।
मनमोहन स्कूल आफ लका प्राचार्य अधिवक्ता कोषराज न्यौपानेले नयाँ प्रविधि सबैका लागि उपयोगी रहेको बताए । उनले नयाँ र पुराना सबै कानून व्यवसायी प्रविधिमा अभ्यस्त हुनु पर्नेमा जोड दिए ।
कानूनी ज्ञान केन्द्रका अध्यक्ष अधिवक्ता तारामणि सापकोटाले नव कानून व्यवसायीका लागि एआई निकै उपयोगी भएको बताए । उनले अबको कानूनी अभ्यास प्रविधि बिना सम्भव नहुने बताएका छन् ।
उक्त कार्यक्रममा मनमोहन इष्टिच्युट अफ लका विद्यार्थी तथा झापाका कानून व्यवसायीसमेत गरी ६० जना भन्दा बढीको सहभागिता रहेको थियो ।







