झापाको बिर्तामोड नगरपालिकामा दोस्रो मेयर कप अन्तर वडास्तरीय कराँते तथा किकबक्सिङ प्रतियोगिता हुने भएको छ ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा जेठ १ र २ गते बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा दोस्रो मेयर कप अन्तर वडास्तरीय कराँते तथा किकबक्सिङ प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा बिर्तामोड नगरका १० वटै वडाबाट खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका संयोजक सुदिप खवासले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने वडाहरूलाई पुरस्कारसमेत प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले नगद २५ हजार र तृतीय स्थान हासिल गर्नेलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।
त्यसैगरी प्रतियोगिताबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने महिला र पुरुषतर्फ एक/एक जना ‘बेस्ट फाइटर’ लाई जनही नगद ५ हजारका दरले पुरस्कार, ट्रफी तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक खवासले बताए ।







