नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ केन्द्रका कार्यवहाक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्य रहेको थियो ।
उक्त अवसरमा प्रमुख अतिथि आचार्य, महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई, अग्रज पत्रकार चन्द्र भण्डारी, महासंघ मोरङ अध्यक्ष सुशिला पाठक, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापा अध्यक्ष पुष्प खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि आचार्यले सरकारी मिडियालाई मात्र एकलौटी रुपमा सूचना दिने सरकारको कदमको बिरोध गर्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् । निजि मिडियाले स्थानीय स्तरमा सहि सूचना दिने गरेको बताउँदै आचार्यले सरकारी बिज्ञापन निजि मिडियालाई नदिने सरकारको कदमले पत्रकारभन्दा पनि स्थानीयस्तरका जनता सूचनाबाट कुण्ठित हुनेमा दुईमत नरहेको बताए ।
सोही कार्यक्रमकाबीच भद्रपुर प्रेस क्लबलाई सम्मान गरिनुका साथै १२१ पटक रक्तदान गरेको भन्दै हल्दीबारी प्रेस क्लबका अध्यक्ष नेत्रबिक्रम बिमली र महासंघलाई सहयोग गरेको भन्दै शिक्षक तथा पत्रकार रञ्जित परियारलाई नगदसहित सम्मान गरिएको थियो ।
लैङ्गिक पत्रकारितामा सक्रिय योगदान पु¥याएको भन्दै गृष्मा सापकोटालाई २५ हजार रुपैयाँसहित ‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । हिमशिखर टेलिभिजनमा आवद्ध सापकोटालाई विशेश्वरप्रसाद बजगाईं (विपीन) र विनिता-होमकला बजगाईंले स्थापना गरेको उक्त पुरस्कार प्रदान गरिएको हो ।
त्यस्तै कार्यक्रममा महासंघ झापाले प्रकाशन गरेको चौथो अङ्ग म्यागजिनको समेत बिमोचन गरिएको थियो ।
महासंघ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषलाई दुई करोड पुर्याउने उद्देश्य राखेको छ । सोही कार्यक्रममा पनि दाताहरुले कोषलाई सहयोग गरेका छन् । हाल उक्त कोषमा करिब एक करोड ३२ लाख रुपैयाँ रहेको र आगामी दिनमा २ करोड पुर्याउने अध्यक्ष गिरीले जानकारी दिएका छन् ।
उपाध्यक्ष सुव्रत न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासंघका सचिव राजु पाठकले गरेका थिए ।







