कतिपय समय तपाईंहरूमध्ये धेरैको डरले छटपटिएर निद्रा खुल्छ । दिनभर सपनाको कुराले बेचैन बनाउँछ । कैयौँ पटक त त्यो नमीठो सपना पटक-पटक दोहोरिन्छ । कतिपय सपना बिर्सिन्छ भने कतिपय नमीठो सपना बारम्बार आइरहन्छन् । डरलाग्दो सपना देखिनुमा मानसिक र शारीरिक दुवै कारणहरू हुन सक्छन् ।
सिनियर कन्सल्टेन्ट साइक्याट्रिस्ट डा.बासुदेव कार्कीका अनुसार डरलाग्दो सपना प्राय: मानिसको अवचेतन मनमा रहेका डर, तनाव र अपूर्ण भावनाको प्रतिबिम्ब हो । जब दिनभर दबिएका भावनाहरू व्यक्त हुन पाउँदैनन्, ती सपनामार्फत बाहिर आउँछन् ।
किन देखिन्छ डरलाग्दो सपना ?
तनाव र चिन्ता : दैनिक जीवनमा धेरै तनाव भएमा मस्तिष्कले त्यसलाई प्रोसेस गर्न खोज्दा डरलाग्दो सपना देखिन्छ ।
डर वा आघात : कुनै दुर्घटना, नराम्रो अनुभव वा बाल्यकालको त्रासदीले पनि बारम्बार डरलाग्दो सपना ल्याउन सक्छ ।
अनियमित सुताइ : ढिलो सुत्ने, पर्याप्त निद्रा नलिने वा सुत्ने समय परिवर्तन हुँदा पनि यस्तो समस्या आउन सक्छ ।
मानसिक स्वास्थ्य समस्या : एन्जाइटी डिसअर्डर वा डिप्रेसन भएका व्यक्तिहरूमा यस्तो सपना बढी देखिन्छ ।
खानपान र बानीहरू : राति धेरै भारी खाना, कफी वा मदिरा सेवनले पनि निद्रामा असर पारेर डरलाग्दो सपना ल्याउन सक्छ ।
के गर्ने ?
सुत्नुअघि मोबाइल वा स्क्रिनको प्रयोग कम गर्ने ।
ध्यान वा गहिरो सास फेर्ने अभ्यास गर्ने ।
नियमित सुत्ने र उठ्ने समय बनाउने ।
समस्या गम्भीर भएमा विशेषज्ञ वा मनोवैज्ञानिकसँग सल्लाह लिने ।
अन्तत: डरलाग्दो सपना तपाईंको दिमागले केही कुरा समाधान गर्न खोज्दैछ भन्ने सङ्केत पनि हुन सक्छ । यदि यो बारम्बार हुन्छ भने, त्यसको कारण बुझेर समाधान गर्नु नै सबैभन्दा राम्रो उपाय हो ।







