आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक वर्ष मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिन्छ ।
सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी देश नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षधरको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो ।
घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्धता जनाइएको थियो । यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘शान्तिपूर्ण भविष्यको निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’रहेको छ ।
युनेस्कोले यस वर्षको कार्यक्रम जाम्बियाको लुसाकामा दुई दिन विभिन्न कार्यक्रम गरी मनाउँदैछ भने दिवसको अवसरमा नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासङ्घले अन्तरक्रियासहित विभिन्न कार्यक्रम आयोजना गरेको छ ।







