झापाको कन्काईमा अटो र मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मंगलबार बिहान ११:३० बजे कन्काई नगरपालिका ३ नयाँबस्तीस्थित पूर्व-पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र१-०१-००१ह ८२५२ न.को अटो अनियन्त्रित भइ बिपरित दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नं.को मोटरसाइकलसँग ठोक्किएको थियो ।
दुर्घटनामा अटोमा सवार हल्दिबारी-३ बस्ने बर्ष ६८ की मन्जुधरी ढकालको मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी ढकालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा दिउँसो ४:३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै अटोमा सवार हल्दिबारी-३ बस्ने बर्ष ५७ का जीवन ढकालको ओठमा चोट लागेको छ । सामान्य अवस्थाका उनको प्रधान मेडिकलमा उपचार भइरहेको छ भने अटोमा सवार हल्दिबारी-३ बस्ने बर्ष ५० की हरिमाया ढकाल, सोही ठाउँ बस्ने बर्ष ३५ की भिमा ढकाल, माधब ढकालका छोरा बर्ष १३ का रोजन ढकाल, हल्दिवारी-५ बस्ने विनोद नेपालका छोरा बर्ष १३ का प्रदिप नेपाल र मोटरसाइकल चालक मोरङ मिक्लाजुङ-६ बस्ने बर्ष ३७ का चन्द्रबहादुर खत्री घाइते भएका छन् । उनीहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले अटो, मोटरसाइकल र अटो चालक हल्दिबारी-३ बस्ने बर्ष ४६ का खेमराज गौतमलाई नियन्त्रणमा लिएको छ ।







