हामीमध्ये धेरैलाई बच्चालाई पनि डिप्रेसन हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । घर-व्यवहार तथा करियरको चिन्ता ठूला मान्छेलाई मात्र हुने भएका कारण हामीलाई त्यस्तो लागेको हो । यद्यपि बालबालिकालाई पनि डिप्रेसन हुन सक्ने चिकित्सकहरू बताउँछन् ।
बालबालिकामा डिप्रेसन देखिएपछि त्यसको उपचार बाल मनोचिकित्सकबाट मात्रै सम्भव हुने कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक डा. उत्कर्ष कार्की बताउँछन् । अहिलेको अवस्थामा बच्चाहरू पनि डिप्रेसनको सिकार हुन सक्ने उनको दाबी छ ।
उनीहरूमा निरन्तर उदासी, दैनिक क्रियाकलापमा अरुचि, छिटो रिसाउने, एक्लै बस्न मन पराउने, थकान र पढाइमा खराब प्रदर्शन जस्ता लक्षणहरू देखिएमा डिप्रेसन हुन सक्छ। समयमै उपचार नभएमा यसले गम्भीर रूप लिन सक्छ ।
बच्चामा डिप्रेसनका लक्षणहरू:
खानपिन, पढाइ वा खेलकुदमा खासै रुचि नदेखाउने ।
अनावश्यक खुसी हुने वा दुखी हुने ।
सधैँ मुड खराब रहनु वा अक्सर रिसाइरहनु ।
परिवारका सदस्यसँग आवेशपूर्ण व्यवहार गर्ने ।
बेचैन रहने ।
धेरै घबराउनु ।
विद्यालयमा अरूसँग घुलमिल नहुनु ।
एकान्तमा बस्न रुचाउनु ।
डिप्रेसन हुनुका कारणहरू:
घरेलु वातावरण: आमाबुबाको झगडा वा घरेलु कलहको प्रत्यक्ष असर ।
तनाव: विद्यालयको दबाब, साथीभाइको सङ्गत वा दुर्व्यवहार ।
वंशानुगत: परिवारमा कसैलाई डिप्रेसन भएको इतिहास भएमा ।
उपचार र समाधानका उपाय:
मनोपरामर्श: मनोविद् वा बाल मनोरोग विशेषज्ञसँग परामर्श लिनु उत्तम हुन्छ ।
वातावरणमा सुधार: बच्चालाई मायालु, शान्त र सुरक्षित वातावरण दिनुहोस् ।
क्रियाकलाप: खेल्ने, रमाउने र प्रकृतिको नजिक लैजाने ।
योग तथा प्राणायाम: योग र ध्यानले बच्चाको मानसिक स्वास्थ्य सुधारमा मद्दत गर्न सक्छ ।







