कला, साहित्य र संगीत क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता विस्तार गर्ने उद्देश्यसहित ‘दिव्य कञ्चन समूह’ पुनर्गठन गरिएको छ ।
युवा सञ्चारकर्मी तथा स्रष्टा भरत प्रसाईंको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गर्दै संस्थाले पुन: सक्रिय यात्रा सुरु गरेको हो ।
वि.सं. २०८१ भदौ १० गते स्थापना भएको समूह केही समय निष्क्रिय बनेको थियो । अहिले भने फराकिलो अवधारणा, स्पष्ट जिम्मेवारी र नयाँ ऊर्जा सहित पुनर्गठन गर्दै अगाडि बढाइएको छ । लिङ्कन मन्टेश्वरी विद्यालयमा आयोजित विशेष कार्यक्रममा नयाँ नेतृत्व सार्वजनिक गरिएको हो ।
नयाँ कार्यसमितिमा विभिन्न विधामा सक्रिय युवाहरूलाई समेटिएको छ । उपाध्यक्षमा रन्जिता खड्का र पवन ढकाल चयन भएका छन् भने महासचिव सुस्मिता बर्तौला, सचिवमा जिना अधिकारी र सहसचिवमा सन्ध्या खनाल र कोषाध्यक्षको जिम्मेवारी गगन भट्टराईले सम्हाल्ने भएका छन् ।
त्यस्तै प्रेस संयोजकका रूपमा देव बास्कोटा चयन हुँदा संगीत र कला विभागको नेतृत्व क्रमश: निरज पोखरेल र सृष्टि आचार्यलाई दिइएको छ ।
त्यसैगरी अन्य सदस्यहरूमा विवेक खरेल, सञ्जय शिवाकोटी, प्रतीक्षा पौडेल र कविता अधिकारी रहेका छन् ।
उक्त भेलाले अग्रज संगीतकार प्रा.हरि पौडेलको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति गठन गरिएकाे छ । जसमा पत्रकार सरोज पौडेल, दाताराम आचार्य, सन्तोष न्यौपाने, तुलसीप्रसाद निरौला र उद्धव पुरीलाई समेटिएको छ ।
अध्यक्ष प्रसाईंले युवामा देखिएको बढ्दो निराशालाई चिर्न र उनीहरूभित्रको सिर्जनात्मक क्षमता उजागर गर्न संस्थाले डिजिटल माध्यमलाई प्राथमिकता दिने बताए ।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले युवालाई सिर्जनासँग जोड्ने प्रयास सकारात्मक रहेको बताउँदै यसको सफल कार्यान्वयनमा विश्वास व्यक्त गरेका थिए ।
त्यसैगरी पत्रकार तथा सल्लाहकार सरोज पौडेलले संस्था स्थापना मात्र होइन, यसको निरन्तरता र उपलब्धि महत्वपूर्ण हुने धारणा राखेका थिए ।
त्यस्तै पत्रकार तथा सल्लाहकार निरौलाले धेरै संस्था दिगो बन्न नसकेको सन्दर्भ उल्लेख गर्दै यो समूहले उदाहरणीय काम गर्ने अपेक्षा व्यक्त गरेका छन् ।







