झापाको अर्जुनधारा-११ स्थित जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानले पत्रकार सन्तोष न्यौपानेलाई सम्मान गरेको छ ।
प्रतिष्ठानको १६औँ वार्षिक साधारणसभाको अवसर पारेर न्यौपानेलाई सम्मान गरिएको हो ।
पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै एभिन्यूज टेलिभिजनका झापा संवाददाता तथा साझा अनलाईन न्युज डटकमका सम्पादक सन्तोष न्यौपानेलाई सम्मान गरिएको हो ।
प्रतिष्ठानको सभाहल बुट्टाबारीमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेशका खानेपानी तथा ऊर्जा मन्त्री चिन्तन पाठकले न्यौपानेलाई सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान गरेका हुन् । पत्रकार न्यौपाने झणडै दुई दशकदेखि झापालाई कर्मथलो बनाएर विभिन्न सञ्चार माध्यममा काम गरिरहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठका अनुसार स्थापनाकालदेखि प्रतिष्ठानले ११८ जनालाई सम्मान गरिसकेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा १० जना विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
कार्यक्रममा सम्मानित विद्यार्थी भेषराज श्रेष्ठले प्राप्त नगद रकम संस्थाको उन्नयनका लागि पुन: हस्तान्तरण गर्नुका साथै बराबरको मूल्यको कुर्सीसमेत सहयोग गरेका थिए ।
अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०६६ सालमा स्थापना भएको संस्थाले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्दै विशिष्ट पहिचान बनाउन सफल भएको उल्लेख गरेका थिए ।
प्रमुख अतिथि मन्त्री पाठकले कोशी प्रदेश सरकारले नेवारी कुलदेवता बाघभैरव गुम्बा निर्माणका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
शोभा श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्वर्ग आश्रम भजन मण्डलीका संयोजक तथा सामाजिक अभियन्ता गणेश ढुङ्गानाले स्वागत गीत प्रस्तुत गरेका थिए ।







