झापाको अर्जुनधारा नगरपालिका-१ स्थित श्रीशङ्कराचार्यपीठ साधुटारमा तीन दिने अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव आयोजना हुने भएको छ ।
उक्त महोत्सव आगामी फागुन २८ देखि ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सन्दर्भ पारेर पर्यटन, वन तथा वातावरण मन्त्रालयको संरक्षकत्वमा तथा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल पर्यटन बोर्डको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव-२०८२ का संयोजक डा.गोपीकृष्ण खतिवडाका अनुसार महोत्सवमा भारतबाट २० जना र नेपालका विभिन्न जिल्लाबाट करिब ५० जना स्रष्टाहरूको सहभागिता रहनेछ ।
कार्यक्रममा प्रा.डा.टंकप्रसाद न्यौपाने, प्रा.डा.देवी नेपाल, प्रा.डा.नारायण गड्तौला, डा.कर्णेश्वर खतिवडा, डा.दीपकप्रसाद न्यौपाने, सह-प्राध्यापक महेश पौडेल र शिव रेग्मी प्रणत विषयविज्ञका रूपमा सहभागी हुने बताइएको छ ।
त्यसैगरी प्रसिद्ध भजन गायक जुनियर अनुप जलोटा, गजलकार समन स्मारिका, अनन्त प्रणुराग, रोहित पराजुली, राधा पाण्डे, छन्दकवि टीका आत्रेय, छवि वैरागी लगायतका स्रष्टाहरूको प्रस्तुति रहनेछ । मिस कस्मो २०८२ की विजेता दीशिक्षा नेपालको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
श्रीशङ्कराचार्यपीठ साधुटारका संस्थापक लक्ष्मीप्रसाद खतिवडाले साधुटार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा चिनाउने, पूर्वीय दर्शन, वेद र उपनिषदमा आधारित साहित्यिक विमर्शमार्फत बौद्धिक पर्यटनको विकास गर्ने तथा नेपाल-भारतका विद्वान, सन्त, महन्त र साहित्यकारबीच वैचारिक तथा सांस्कृतिक आदान-प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवको पहिलो दिन फागुन २८ गते साँझ ६ देखि १० बजेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । दोस्रो दिन फागुन २९ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म झापाका विभिन्न गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई छन्द तथा गद्य कविता लेखन प्रशिक्षण दिइनेछ । सोही दिन साँझ ६:३० देखि १० बजेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारबाट भजन तथा गजल प्रस्तुति हुनेछ ।
फागुन ३० गते मूल समारोह सम्पन्न गरिनेछ । सो अवसरमा साहित्य र पर्यटनसम्बन्धी तीनवटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ । कार्यक्रम अवधिभर पठन संस्कृतिको विकासका लागि पुस्तक प्रदर्शनी पनि गरिनेछ ।
महोत्सव अवधिभर बिहान ४ देखि ६ बजेसम्म त्रिदिवसीय योग शिविर सञ्चालन गरिनेछ भने आश्रममा दैनिक रूपमा हुने नित्य वैदिक कर्मको विशेष प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।







