निर्वाचनको मुखमा बिर्तामोड बसपार्क क्षेत्रमा राजनीतिक गतिविधि निषेध गर्ने स्थानीयको संघर्ष कार्यक्रमले जिल्लाभर चर्चा पाएको छ ।
भोट माग्न आउने उम्मेदवारलाई बसपार्क क्षेत्रमा प्रवेश गर्न नदिने घोषणा गरेपछि राजनीतिक दल र उम्मेदवारहरू समस्याप्रति गम्भीर देखिए पनि तत्काल समाधान सम्भव नभएको उनीहरूको भनाइ छ ।
बिगत दुई वर्षदेखि ५१ बिघा क्षेत्रफलको जग्गा रोक्का हुँदा दैनिक जीवन प्रभावित बनेका बसपार्कबासीले दबाबमूलक आन्दोलन थालेका हुन् । उनीहरूले बसपार्कका चारवटै प्रवेशद्वारमा निषेधसम्बन्धी व्यानर राख्दै कुनै पनि दलका उम्मेदवारलाई प्रचारप्रसार गर्न नदिने घोषणा गरेका छन् ।
निवर्तमान सभामुख तथा झापा-२ बाट एमालेका उम्मेदवार देवराज घिमिरेले बसपार्क र गिरीबन्धु टी-इस्टेटसम्बन्धी सबै फाइल अख्तियारमा पुगेकाले हालको सरकारले तत्काल समाधान गर्न कठिन हुने बताए।
त्यस्तै रास्वपाकी उम्मेदवार तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले पनि यही चुनावी सरकारले समस्या हल गर्न नसक्ने स्पष्ट पारिन्।
स्थानीय बसपार्कबासीले भने बिगत दुई वर्षदेखि सबै दलका नेताहरूलाई गुहार्दा पनि आश्वासनबाहेक केही नपाएको गुनासो गरेका छन् ।
५१ बिघा बसपार्क समन्वय समितिका सहसचिव शिवराज पौडेल भन्छन्, “हामीले सबै दलका नेताहरूसँग हारगुहार गर्यौं। तर आश्वासन मात्र पाइयो। त्यसैले अब कुनै पनि उम्मेदवारलाई बसपार्क छिर्न दिँदैनौं ।”
आन्दोलनको जानकारी दिन आइतबार माइकिङसमेत गरिएको थियो । समन्वय समितिका संयोजक सुजनराज शिवाकोटीका अनुसार बसपार्क समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा.कुमार इङनामलाई खुला पत्र बुझाइसकिएको छ ।







