शैक्षिक परामर्शसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले एक विद्यार्थीको उपचारमा आर्थिक सहयोग गरेको छ ।
बिर्तामोड नगरपालिका-३ घर भएका १६ वर्षीय आर्यनकुमार महत्तोको उपचारमा इक्यानको सामाजिक उत्तरदायित्व विभागले एक कार्यक्रमका बीच आर्थिक सहयोग गरेको हो ।
एप्लास्टिक एनीमिया नामक रोगका कारण हाल भारतको नयाँदिल्ली स्थित एम्स हस्पिटलमा उपचारत रहेका महत्तोलाई आर्थिक संकट भएसँगै इक्यान झापाले सामाजिक उत्तरदायित्व अन्तरगत ३६ हजार रुपैंया आर्थिक सहयोग गरेको हो ।
बिर्ताबजारस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएको र उनको उपचारमा करिब ५० लाख रुपैंया खर्च लाग्ने बताइएसँगै महत्तो परिवारले सहयोगको याचना गरेको थियो । सहयोग रकम लिएर इक्यान झापाको टोली उनको घरमै पुगेको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बिर्तामोड-३ का वडाध्यक्ष मदन बुढाथोकीले आफु पनि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत रहेकाले एक विद्यार्थीको उपचारमा इक्यानले सहयोग गरेको भन्दै सानो सहयोगले पनि यस्तो अवस्थामा ठूलो महत्व राख्ने धारणा व्यक्त गरेका थिए ।
इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले शैक्षिक परामर्शसँगै सामाजिक क्षेत्रमा समेत इक्यान झापाले विभिन्न कार्यक्रमहरु गर्दै आएको र एक विद्यार्थी आर्थिक अभावकै कारण उपचारमा बञ्चित हुनु नपरोस् भनेर सानो सहयोग लिएर घरमै आएको बताए ।
इक्यान झापाका उपाध्यक्ष एवम् सामाजिक उत्तरदायित्व विभाग (सीएसआर) प्रमुख अशोक भण्डारीले नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।
कार्यक्रममा इक्यान झापाका संस्थापक अध्यक्ष एवम् प्रमुख सल्लाहकार सुमन शर्मा जमरकट्टेल, इक्यान झापाका कोषध्यक्ष तुलसी पाठक, इक्यान झापाका कार्यसमिति सदस्य एवम् संगठन विभाग प्रमुख मोहन पराजुली, सामाजिक उत्तरदायित्व विभाग (सीएसआर)का सदस्य कृष्ण खतिवडा, सञ्जय पौडेल लगायतको सहभागिता रहेको थियो ।







