अमेरिकाले एकैदिन एक विद्यार्थीसहित ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ ।
मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौँ ल्याएर छाडेको हो ।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु रहेका छन् ।
डिपोर्ट हुनेमध्ये एक जना विद्यार्थी भिसामा अमेरिका पुगेका व्यक्ति पनि रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए । ती विद्यार्थीलाई ओभर स्टे भनेर डिपोर्ट गरिएको पाइएको उनले बताएका छन् ।
त्यस्तै बाँकी भने अवैध बाटोबाट अमेरिका जानेहरु रहेको पंगेनीले बताए । यसरी अमेरिका छिर्नेहरूले डेढ करोड रुपैयाँसम्म बुझाएको पाइएको पगेनी बताउँछन् ।
ब्युरोका अधिकारीहरुले उनीहरुसँग सोधपुछ गरेर परिवारका जिम्मा लगाएका छन् । कोही कसैले गैरकानुनी रुपमा अमेरिका पठाएको भए उजुरी दिन पनि ब्युरोले उनीहरुसँग अनुरोध गरेको छ ।







