झापाको बिर्तामोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।
बिहीबार साँझ ७:५० बजे बिर्तामोड-५ सिटी सेन्टरस्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना८ख २२९७ नं.को ट्रक र बिपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको (जलेर नष्ट भएको) मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी-४ वस्ने वर्ष ३२ का खगेन्द्र मगर र सोही मोटरसाइकलमा पछाडी सवार उनकी श्रीमती वर्ष २५ की सुकमाया तामाङ गम्भीर घाइते भएका थिए ।
दुवै जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा मोटरसाइकल चालक मगरको उपचारको क्रममा राति ९ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनापश्चात् मोटरसाइकलमा आफै आगलागी भई मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलले उक्त आगलागी नियन्त्रणमा लिएको थियो । ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालय र मोटरसाइकल इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेको छ ।







