बिर्तामोडमा भएको स्थानीयतहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालय च्याम्पियन बनेको छ ।
बिर्तामोड नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा वडा नं.२ मा रहेको निदि माविले १७ स्वर्ण, ८ रजत र ५ कास्य जितेर प्रथम भएको हो ।
यस्तै वडा नं.१० मा रहेको महेन्द्रज्योति माध्यमिक विद्यालय दोश्रो भएको छ । महेन्द्रज्योतिले ७ स्वर्ण, ५ रजत र ४ कास्य प्राप्त गरेको छ भने वडा नं.३ को महेन्द्ररत्न माध्यमिक विद्यालय तेश्रो भएको छ । महेन्द्ररत्नले ६ स्वर्ण, ९ रजत र ७ कास्य प्राप्त गरेको छ ।
विजेताहरु प्रथम, द्वितिय र तृतियले क्रमश: १५ हजार, १२ हजार र १० हजार रुपैयाँसहित प्रमाण पत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् । नगरपालिकाले यस वर्षदेखि विजेताको लागि रनिङ शिल्डको समेत व्यवस्था गरेको थियो ।
विजेता विद्यालय तथा विद्यार्थीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता पुस १३ गतेदेखि वडा नं.८ स्थित सेन्ट जेभियर्स स्कुलको मैदानमा भएको थियो । बिर्तामोड नगरपालिका भित्रका ३९ वटा विद्यालयका दुई हजार भन्दा बढी विद्यार्थीले प्रतियोगितामा कराते, उस्सु, तेक्वान्दो, एथलेटिक्स, भलिवल र कवड्डी विधामा प्रतिस्पर्धा गरेका थिए ।







