झापाको बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेशन एकेडेमीको प्रि-प्राइमरीका विद्यार्थीको विविध खेलकुद प्रतियोगिता समापन भएको छ ।
२२ औँ वार्षिक विद्यालय खेलकुद कार्यक्रम अन्तरगत आइतबार नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरूको खेलकुद कार्यक्रम समापन भएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नारी सञ्चार गृह झापाका अध्यक्ष स्वस्तिका आचार्य रहेकी थिइन् ।
कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै स्कुलका प्रिन्सिपल देबेन्द्र हुमागाईले शैक्षिक अध्ययनसँगै शारीरिक र मानसिक विकासका लागि खेलकुद आवश्यक रहेकाले विद्यार्थीको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्न प्रत्येक वर्ष यस्ता प्रतियोगिता गरिदै आएको बताए ।
प्रिन्सिपल हुमागाईले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, सहकार्य, प्रतिस्पर्धा भावना तथा नेतृत्व क्षमताको विकासमा मद्दत गर्ने बताउँदै विद्यालयले सिकाई सँगसँगै अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिँदै आएको उल्लेख गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका साथ प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि नारी सञ्चार गृहका अध्यक्ष आचार्य, बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका संयोजक सरोज पौडेल, विद्यालयका निर्देशक आशिस प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रि-प्राईमरी इन्चार्ज शिक्षक साबित्रा चापागाँईले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन् ।







