हरेक व्यक्तिको शरीरमा मौसमअनुसार परिवर्तन आउने गर्दछ । गर्मी महिनामा शरीरले धेरै पसिना र तरल पदार्थ उत्पादन गर्छ, जसका कारण छाला चिल्लो र चिपचिप हुन्छ । जाडो महिनामा भने पसिना कम आउने भएकाले छाला तुलनात्मक रूपमा कम चिल्लो हुन्छ ।
जाडोमा सुख्खा हावा बढी चल्ने भएकाले शरीरभित्रको पानी सोसिन्छ र छाला सुख्खा बन्छ । साथै जाडोमा एसी वा हिटर धेरै चलाउने बानीले पनि छाला अझै सुख्खा हुने गर्छ । यसकै कारण ओठ, गाला, हात-खुट्टा फुट्ने समस्या बढी देखिन्छ । जाडो मौसममा छालाको प्राकृतिक तेल उत्पादन पनि घट्ने भएकाले छालाको सुरक्षात्मक तह कमजोर बन्छ । विशेषगरी हात, खुट्टा र ओठ निरन्तर चिसो हावाको सम्पर्कमा रहने भएकाले छिट्टै प्रभावित हुन्छन् ।
छाला फुट्न नदिन के गर्ने ?
थोरै सावधानी र सही स्किनकेयर अपनाएमा यस समस्याबाट सजिलै बच्न सकिन्छ । मनतातो पानीले नुहाउने, मोइस्चराइजर लगाउने, प्रशस्त पानी पिउने तथा पौष्टिक भोजन गर्ने बानीले छालालाई चिसो हावाबाट जोगाउँछ र यसलाई नरम तथा स्वस्थ राख्छ ।
शरीरको छाला फुट्न नदिन धेरै तातो पानी प्रयोग गर्नु हुँदैन । नुहाइसकेपछि शरीरमा नरिवलको तेल वा मोइस्चराइजर लगाउनु राम्रो हुन्छ । शरीरलाई क्रिम, तेल, पञ्जा, टोपी र मास्कले ढाक्दा छाला फुट्ने सम्भावना घट्छ ।
दैनिक नुहाउने बानी भएकाहरूले हप्तामा दुई-तीन दिनमात्र साबुन वा सेम्पु प्रयोग गर्नुपर्छ । दैनिक रूपमा प्रयोग गर्दा छाला अझै सुख्खा र फुट्ने सम्भावना बढ्छ । नुहाइसकेपछि सिधै उनी (ऊन) का बाक्ला कपडा नलगाई, पहिलो तहमा सुती कपडा लगाएर मात्र बाक्ला लगाउनु उचित हुन्छ । जाडो समयमा प्रशस्त पानी पिउनु पनि अत्यन्त आवश्यक हुन्छ । (छाला रोग विशेषज्ञ डा.सुवेदी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीमा कार्यरत छन्)







