भ्रष्टाचार विरुद्ध र सुशासन प्रवद्र्धनका लागि कलम चलाउँदै आएका झापाका तीन जना पत्रकारलाई टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशिको उक्त पुरस्कार प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यको प्रमुख आतिथ्यमा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच आज वितरण गरिएको हो ।
अमेरिकाको टेक्सासस्थित हेम-सरिता फाउण्डेशन र नेपाल पत्रकार महासंघ झापाको सहकार्यमा स्थापित उक्त पुरस्कार २०८१ का लागि पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारी र जनआन्दोलन साप्ताहिककी सम्पादक इन्दू पूर्वेली गौतमलाई संयुक्त रुपमा प्रदान गरिएको थियो भने २०८२ बाट नयाँ पत्रिका दैनिकका झापा समाचार दाता चिरञ्जिवी घिमिरे पुरस्कृत भएका छन् ।
पुरस्कारका लागि पाँच लाख पाँच हजारको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषको ब्याजबाट पुरस्कार प्रत्येक वर्ष महासङ्घले पुरस्कार वितरण गर्दै आएको छ ।
सोही अवसरका बीच महासंघले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको समचार लेखनका लागि पत्रकार जोस्ना श्रेष्ठ र रञ्जीता खड्कालाई जनही पाँच-पाँच हजार रुपैयाँको लेखनवृत्ति प्रदान गरेको छ ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष डा.आचार्य, मुख्य अधिकृत झविन्द्र भुषाल, महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, झापाका पूर्वअध्यक्ष केशव आचार्य र पुरस्कृत घिमिरेले मन्तव्य राखेका थिए ।
पुरस्कृत पत्रकारको संक्षिप्त परिचय उपाध्यक्ष विनिशा शर्माले प्रस्तुत गरेकी थिइन् भने स्वागत उपाध्यक्ष सुब्रत न्यौपाने र सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।







