झापाको मेचीनगर नगरपालिकाले २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेवीका दिवसको अवसरमा १७ जना स्वयमसेवीकालाई सम्मान गरेको छ ।
शुक्रबार नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको दिवसमा दुई जनालाई दीर्घसेवा सम्मान र १५ जना उत्कृष्ट स्वयमसेवीकालाई सम्मान गरेको हो ।
नगरसभा हलमा भएको कार्यक्रममा मेचीनगर-१० की स्वयमसेवीका माया सिलवाल र मेचीनगर-१ की स्वयमसेवीका राधादेवी कार्कीलाई दीर्घसेवा सम्मानबाट पुरस्कृत गरिएको छ । दुवै जनाले जनही १-१ लाख रुपैयाँ सम्मानसहित पुरस्कृत भएका छन् ।
त्यसैगरी प्रत्येक वडाबाट १-१ जना उत्कृष्ट स्वयमसेवीका सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा मेचीनगर-१ की गीता थापा, २ की निरा दाहाल, ३ की निर्मला सुवेदी, ४ की सन्दिपा तामाङ, ५ की दुर्गा आचार्य देवकोटा, ६ की सुकमाया राई, ७ की विमला श्रेष्ठ राजबंशी, ८ की ज्योती गिरी, ९ की नर्वदा बस्नेत र १० की माया सिलवाल रहेका छन् ।
यस्तै वडा नम्बर ११ की सावित्रा कट्टेल, १२ की भूमिका तामाङ, १३ की गोमा थपलिया, १४ की दुर्गादेवी थापा र १५ की मेखमाया राई सम्मानित भएका छन् । उनीहरुलाई ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा दीर्घसेवाबाट सम्मानित माया सिलवाल, काँकरभिट्टा स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ खतिवडा, स्वयमसेवीका दुर्गा आचार्य देवकोटा लगायतले भत्ता बढाउन र अक्षय कोषलाई संरक्षण गरेर लान माग गरेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले गरेकी थिइन् ।







