झापाको बुद्धशान्ति-३ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा ट्रक र सुमो ठोक्किदा पाँचजना घाइते भएका छन् ।
गएराति ८:३० बजे बुधबारेबाट चारआलीतर्फ आउँदै गरेको डब्लुबी ७६६७५२ नं.को भारतीय सुमो र बिपरित दिशाबाट जाँदै गरेको मे.१ख.३३६७ नं.ट्रक एकआपसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा सुमो चालक भारत दार्जेलिङ बस्ने वर्ष ४६ का बिसन साशंकर, सुमोमा सवार यात्रुहरु भारत नक्सलबारी बस्ने वर्ष ४३ का शेखर गहतराज, दार्जेलिङ बस्ने वर्ष ३७ का एसदिप साशंकर, झापा बुद्धशान्ति-३ बस्ने वर्ष ३७ का घनश्याम बि.क.र सडकमा हिड्दै गरेका पैदलयात्री बुद्धशान्ति-३ बस्ने वर्ष ६५ का हिरालाल चौधरी घाइते भएका छन् । पैदलयात्री चौधरीलाई ट्रकले ठक्कर दिएको हो ।
पाँचैजना घाइतेहरुलाई उपचारका लागि भागिरथा न्यौपाने अस्पताल बुधबारे लगिएको थियो । बिसन साशंकर, शेखर गहतराज, एसदिप साशंकर, घनश्याम बि.क.लाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । पैदलयात्री चौधरीलाई बचाउन खोज्दा ट्रक सुमोसंग ठोक्किएको बताइएको छ ।
ट्रक चालक ताप्लेजुङ मैवाखोला-६ बस्ने वर्ष २४ का ज्ञानेद्र लिम्बूलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।







