जेनजी आन्दोलनपछि समाजमा शान्ति सुरक्षा कायम गर्न र हाल बन्द रहेको सेवा प्रवाह सुचारु गर्न सरोकारवालाले प्रतिवद्धता व्यक्त गरेका छन् ।
बिर्तामोडमा मंगलवार प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीसहति सुरक्षा निकायका प्रमुख नागरिक समाज, निजी क्षेत्र, अधिकारकर्मी तथा सञ्चारकर्मीबीच भएको बैठकमा यस्तो प्रतिवद्धता जनाइएको हो ।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति सहज बनाउँदै शान्ति स्थापना र बैकल्पिक व्यवस्था गरी सेवा प्रवाह सुचारु गर्न सबै पक्षले सहयोग गर्ने बैठकमा प्रतिवद्धता जनाइयो । अहिले शान्ति सुरक्षा पहिलो प्राथमिकता भएकाले सबै पक्ष जिम्वेवार बन्नु पर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश सहभागीले जेनजी आन्दोलन र त्यसपछिको उत्पन्न परिस्थितिका विषयमा धारणा राख्दै सुरक्षा विना कुनैपनि क्षेत्र अगाडि बढ्न नसक्ने भएकाले शान्ति सुरक्षा नै पहिलो दायित्व भएको बताएका हुन् ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले सुशासनको माग गरेर गरिएको आन्दोलनले अर्कै मोड लिएपनि त्यसपछि उत्पन्न परिस्थितिका विषयमा नागरिक समाजका तर्फबाट गरिएको प्रयास सह्राहनीय रहेको बताए । उनले अहिले घृणा भाव जगाउने काम कसैले गर्न नहुने भन्दै समाजलाई एकतावद्ध र प्रभावकारी रुपमा अगाडि बढाउन सबैले हातेमालो गर्नु पर्ने बताए ।
उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बू, सशस्त्र प्रहरी नम्वर २ गणका सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, मानव अधिकार सञ्जाल झापाका संयोजक डा.रुपकप्रसाद खनाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल बार एशोसिएसन झापाका उपाध्यक्ष चित्रबहादुर मगर, त्रिवी प्राध्यापक संघ झापाका अध्यक्ष लिला अधिकारी, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, एवीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, नेपाल अलैंची व्यवसायी महासंघका निर्वतमान अध्यक्ष निर्मल भट्टराई, उद्योग वाणिज्य संघ कोशीका सदस्य तथा रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका पूर्व अध्यक्ष सजेश शिवाकोटी लगायतले आ-आफना धारणा राखेका थिए ।
संवाद समूहको संयोजनमा भएको कार्यक्रममा नवीन गट्टानी, केदार गिरी, कविता शर्मा, अभय राजवंशी, टेकनाथ भण्डारी, युवराज कुँवर, संगीता रौनियार, ओमकृष्ण विमली, राजकुमार कार्की, धनवहादुर पङ्धाक लगायतले सुरक्षा निकायलाई आ-आाफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
बैठकमा विभिन्न संघ संस्था तथा दाताहरुले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको भवन पुन: निर्माणमा आवश्यक सामग्री खरिदमा सहयोगको घोषणा गरेका छन् । सोही अवसरमा २८ लाख रुपैयाँ बरावरको प्रतिवद्धता व्यक्त गरेका छन् ।







