जिल्ला प्रशासन कार्यालय झापाले कर्फ्युमा थप कडाइ आदेश जारी गरेको छ ।
भदौ २३ र २४ गतेको जेनजी नेतृत्वको आन्दोलन सकिएपनि केहि अराजक तत्वहरुले सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्ने प्रयास गरिरहेको भन्दै प्रशासनले झापामा थप कडा कर्फ्युको आदेश जारी गरेको हो ।
जिल्लामा शान्ति र सुव्यवस्था कायम गरी जनजीवन सामान्य बनाउने सन्दर्भमा भाद्र २४ गते बेलुकी १० बजेबाट झापा जिल्लाभर आवतजावत गर्न, भेला हुन, सभा जुलुश प्रदर्शन गर्न, बैठक गर्न, घेराउ गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यु आदेश जारी गरिएको थियो ।
आज दिउँसो ३ बजेबाट अझ कडा बनाई कर्फ्युको अवधि भोलि बिहान ६ बजेसम्म थप गरिएको छ । उक्त अवधीमा अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र निस्कनै पर्ने काम भएमा सुरक्षाकर्मीसँग सम्पर्क गरी अनुमति लिएर मात्र निस्कन सबैलाई प्रशासनले सूचित गराएको छ ।
कसैले आदेशको उलङ्घन गरेमा सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिन तथा आवश्यक भएमा गोली समेत हान्न सक्ने जारी सूचनामा उल्लेख छ ।







