झापाको अर्जुनधारा नगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रलाई ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।
वीरगञ्ज कृषि औजार कारखाना पुन: सञ्चालन गर्न डा.महावीर पुनले सञ्चालन गरेको आत्मकथा पुस्तक बिक्री अभियानलाई नगरले एक सय किताव खरिद गरेर उक्त रकम सहयोग गरेको हो ।
अभियानकै क्रममा आइतबार अर्जुनधारा नगर पुगेका पुनलाई एक संक्षिप्त कार्यक्रम गरेर नगरकी उप-प्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले उक्त पुस्तक खरिद गरेका हुन् ।
पुनले आफ्ना जीवन भोगाईका बिषयलाई समेटेर प्रकाशन गरेको ‘सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक अर्जुनधाराले एक सय वटा गरिद गरिदिएको छ ।
डा.पुनको पुस्तक बिक्री अभियानमार्फत किसानका लागि कृषि औजार उत्पादन गर्ने वीरगञ्ज कारखाना सञ्चालनमा ल्याउन रकम संकलन भइरहेको छ । सो अभियानका रुपमा डा.पुन झापा ४३ औँ जिल्लाका रुपमा आएका छन् ।
डा.पुनले आत्मकथा पुस्तक बिक्री अभियान राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन मात्र नभएर आफुले जीवनमा भोगेका दु:ख कष्ट पनि रहेको र त्यसले युवा पुस्तालाई प्ररणा मिल्ने बताए ।
सोही कार्यक्रमका बीच नगरका कर्मचारीसहित अन्यले पनि पुनको उक्त पुस्तक खरिद गरेका छन् ।







