गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा अवरूद्ध गर्दा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका छन् ।
इजरायल-हमास युद्ध सुरु भएको २२ महिनामा हालसम्म भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८१ जना बालबालिका छन् । केवल जुलाई महिनामै भोकका कारण ४० जनाको मृत्यु भएको छ, तीमध्ये १६ बालबालिका छन् ।
गाजामा रिपोर्टिङ गरिरहेका पत्रकारहरूका अनुसार त्यहाँ ५० ग्रामको बिस्कुटको मूल्य एक हजार रुपैयाँ भन्दा बढी पर्ने अवस्था छ । नगद पैसा झिक्नका लागि ४५ प्रतिशतसम्म कमिसन दिनुपर्छ ।
इजरायलले विदेशी पत्रकारहरूलाई प्रवेश निषेध गरेका कारण त्यहाँबाट स्थानीय सञ्चारकर्मीहरूले रिपोर्टिङ गरिरहेका छन् ।
बालबालिका लगायतका मानिसहरू नुन चाटेर र पानी पिएर पेट भर्नुपर्ने बाध्यतामा छन् । एक पत्रकारका अनुसार २१ महिनामा उनको तौल ३० किलोले घटेको छ, उनी थकान र रिंगटासँग जुधिरहेका छन् ।
कुपोषणले ज्यान गुमाउने बढ्दै
दक्षिण गाजाको सबैभन्दा ठूलो नासिर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार गाजाका सबै मानिसहरू भोकमरीको संकटसँग जुधिरहेका छन् । कुपोषणका कारण ज्यान गुमाउने बालबालिकाको संख्या निरन्तर बढिरहेको छ ।
उनका अनुसार युद्ध सुरु हुँदा अस्पतालमा सबैभन्दा बढी घाइतेहरू हवाई आक्रमणबाट पीडित हुन्थे तर अहिले ती स्थानमा कुपोषणग्रस्त बालबालिका आएका छन् । गाजाको एक तिहाइ जनसंख्या धेरै दिनमा एकचोटि मात्र खाना पाउने अवस्थामा छन् ।







