झापाको बाह्रदशीमा मोटरसाइकल र स्कुटर एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ भने बालकसहित दुईजना गम्भीर घाइते भएका छन् ।
आज दिउँसो ३:४० बजे बाह्रदशी गाउँपालिका-१ खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जादै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुध्दा दुवै चालकको मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक कचनकवल-३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी-१४ बस्ने २७ वर्षीय सुरज टुडूको मृत्यु भएको हो ।
स्कुटरमा सवार राजवंशीकी बुहारी २७ वर्षीया उर्मिला राजवंशी र नाति ३ वर्षीय आयुष राजवंशी गम्भीर घाइते भएका छन् । उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
स्कुटर चालक र मोटरसाइकल चालकलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा दिउँसो ४:४० बजे दुबै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।







