श्रमदानको भुक्तानी विवादमा धरान उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पक्षबीच झडप भएको छ ।
प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्र बिक्रम बेघाबीच पनि चर्काचर्की भएको हो ।
दुई पक्षाबीचको विवाद र झडपले गर्दा मंगलबार दिनभर नगर परिसर तनावग्रस्त बन्यो । ‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले नगरपालिकासँग ७ लाख ४१ हजार भुक्तानी माग गरेको थियो ।
१७ लाख ४० हजार बराबरको काम मध्ये ९ लाख ९८ हजारको श्रमदान र नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी मागेपछि उपमेयर बेघाले रोकिदिए । त्यसपछि धरान-१० को रायणपथमा श्रमदानमा प्रयोग भएको नगरको सवारीको चाबी बेघाले खोस्न लगाए । दुई वटा काम रोकिएपछि सोमबार दुई पक्षबीच सामान्य विवाद भएको थियो । मंगलबार भने हात हालाहालको स्थिति बनेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले दुई पक्षबीच विवाद भएको बताए । दुवै पक्षलाई नगर परिसरबाट हटाएपछि अवस्था सामान्य बनेको उनले बताएका छन् ।
सोमबार मेयरका समर्थकले उपमेयर बेघालाई हातपात गर्ने प्रयास गरेका थिए, मंगलबार साम्पाङको समूहले उपमेयरसँग श्रमदानका क्रममा खोसिएका सवारीको चाबी माग गरेको थियो । बेघाले चाबी छैन भनेपछि विवाद सुरु भएको थियो । हुलहुल्जत गरेपछि बेघाले पनि आफ्ना समर्थकलाई बोलाएका थिए । दुई पक्षबीच आरोप प्रत्यारोप चर्किएपछि झडप भएको थियो ।
मेयर पक्षधरले भने श्रमदानबाट काम भइरहेको स्थानमा उपमेयरले अनावश्यक अवरोध सिर्जना गरेको दाबी गरको छ । बेघा पक्षले भने श्रमदानमा सरकारी सम्पति दुरुपयोग हुन नदिने बताएको छ ।







