नेपाल प्रेस युनियन झापा शाखाले ३४ औं स्थापना दिवसको अवसर पारेर संस्थापक अध्यक्ष राजेश ढुंगानासहित पाँच जनालाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष ढुङ्गानासहित पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाल, पूर्व केन्द्रीय सदस्यहरू गोविन्दचन्द्र क्षेत्री, लोकराज ढकाल, कृष्ण हुमागाई रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले दोसल्ला ओढाउँदै सम्मान पत्र प्रदान गरेका थिए ।
युनियनले स्थापना दिवसको अवसर पारेर लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी समेत सम्पन्न गरेको छ । सोही कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरिएको थियो ।
नेपाल प्रेस युनियन झापा शाखाका सभापति गिरीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिटौला, सम्मानितको तर्फबाट नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष राजेश ढुंगाना, नेपाली काग्रेस झापाका सभापति देउकुमार थेवे, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए ।
उपाध्यक्ष ईश्वर अधिकारीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अर्जुन राजवंशीले गरेका थिए ।







