इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ ।
कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फोटो पत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ ।
प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निसान्त राना चौथो तथा मनोज बस्नेत पाँचौं स्थानमा परेका छन् ।
उत्कृष्ट पाँच फोटोग्राफर/फोटो पत्रकारलाई क्रमश: नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कार वितरण प्रमुख अतिथि वन तथा पर्यटन मन्त्री सदानन्द मण्डलले गरेका थिए ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा तथा नेपाल फोटो पत्रकार महासंघ कोशी प्रदेशको संयोजनमा प्रतियोगितामा प्राप्त २०८ फोटोहरूमध्ये ६० उत्कृष्ट फोटोहरू छनोट गरी प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक तथा फोटो पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष विनोद पाण्डेले जानकारी दिए ।
कार्यक्रम व्यवस्थापनका लागि विनोद पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो भने पर्यटन कार्यालयका अधिकृत निरोज कट्टेल सदस्य सचिव, पत्रकार सन्तोष र्पूकोटी र दिपक बोहोरा सदस्य रहेका थिए ।
त्यस्तै निर्णायक समितिको संयोजकत्व गिरीराज बास्कोटाले गरेका थिए भने सदस्यमा वरिष्ठ फोटोग्राफर विश्व ताम्रकार र चित्रकला प्रशिक्षक छेतेन शेर्पा रहेका थिए ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्ण शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सांसद सम्शेर राई, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, इलाम उद्योग वाणिज्य संघका उपाध्यक्ष दिव्या भट्टराई र होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी गौतमलगायतले मन्तव्य राखेका थिए ।
पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार सन्तोष र्पूकोटीले गरेका थिए ।







