काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरीवाना तोकेको छ ।
तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेवापत महानगरले आठ वटा शीर्षकमा सात लाख ९३ हजार रुपैयाँ जरीवाना तोकेको हो । ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौँका नाममा महानगरका आठ जना नगर प्रहरीले आठ वटा बेग्लाबेल्लै पत्र काटेका हुन् ।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । प्रसाईंले आह्वान गरेको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति, राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएका थिए ।
यी हुन् महानगरले पूर्वराजासँग मागेको जरिवानाका शीर्षक
१) कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको-१ लाख
२) महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको- १ लाख
३) तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको- १ लाख
४) जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको- १ लाख
५) बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको- १ लाख
६) सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको- १ लाख
७) महानगरको दमकल फुटाएको- १ लाख ३० हजार
८) तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड- ४० हजार
९) तीनकुनेको आइल्याण्डमा तोडफोड- २३ हजार







