होलीका दिन झापामा करिब एक दर्जन दुर्घटना भएका छन् ।
साना ठूला गरी धेरै वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
शुक्रबार साँझ अन्दाजी ५ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधे चौक नजिक भित्री पक्की सडकखण्डमा दुधेबाट शिवगंजतर्फ जाँदै गरेको प्र १-०१-००१ च ८९५० नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने फणिन्द्र खनालका छोरा १२ वर्षीय आदर्श खनाललाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते बालकलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । दुर्घटनापछि फरार रहेका पिकअप चालक शिवसताक्षी-११ बस्ने २७ वर्षीय सागर भन्ने सिटु पोद्धारलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।
त्यस्तै हिजो बिहान ९:३० बजे भद्रपुर नगरपालिका वडा नं.२ देउनिया पुलस्थित मेची राजमार्गमा सगरमाथा चोकबाट ज्ञानेचोकतर्फ जाँदै गरेको मे ४ प ६४८३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४१ वर्षीय सन्तबहादुर लिम्बू र मोटरसाइकलमा पछाडी सवार ४२ वर्षीय दिलमान लिम्बू ग्म्भीर घाइते भएका छन् । दुवै जना घाइतेको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।







