गत वर्षको एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै झापाको लक्ष्मीपुरमा अवस्थित पाथिभरा एकेडेमीले स्थापनाको १७ औं वार्षिक उत्सव मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा उत्कृष्ट जिपिए ल्याउने छात्र राज काफ्ले पुरस्कृत भएका छन् ।
यसैगरी शिक्षकहरु लुना श्रेष्ठ सुवेदी ,गोमा खड्का र इन्द्रमाया खरेललाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको विद्यालयका सीइओ श्रीकान्त थापाले जानकारी दिए ।
त्यस्तै विद्यालयमा १० वर्षे सेवा अवधि पूरा गरेका शिक्षक कर्मचारीलाई कदरपत्र प्रदान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा इन्द्रमाया खरेल, खड्गप्रसाद गौतम, कृष्ण भट्टराई, मिनादेवी रिजाल, दिपा लम्साल र यशोदा राजवंशी रहेका छन् ।
विद्यार्थीहरूको साङ्गीतिक र सांस्कृतिक प्रस्तुतीसमेत रहेको समारोहमा कन्काई नगरका शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, वडाध्यक्ष लिलाबहादुर कट्वाल, पत्रकार केशव भट्टराई, नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक तोया ओली, प्याब्सन झापाका सचिव विनोद सुब्बा, कन्काई प्याव्सनका अध्यक्ष बिनोद उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहायक प्रिन्सिपल सुशील सुवेदीले स्वागत मन्तव्य राखेको समारोहमा विद्यालयका सीइओ थापाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।







