नेपाल शिक्षक संघ बिर्तामोडको सातौं प्रतिनिधि सभामा नगरभरिका १० उत्कृष्ट शिक्षकसहित एक कर्मचारी सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुमा महेन्द्ररत्न माध्यमिक विद्यालयका भवानीप्रसाद खरेल र शोभा सुवेदी, देवी माध्यमिक विद्यालयका कैलाश पोख्रेल, वीर अमरसिंह माविका मोहन ओझा, मोहनमाया माविका सिर्जना पौडेल र जीवकुमारी दाहाल, सरस्वती मावि बुट्टावारीकी सुशिला सापकोटा पोख्रेल, महेन्द्रज्योति मावि सैनिक बजारका विरेन्द्र कडरिया रहेका छन् ।
त्यस्तै स्थायी नियुक्तिका आधारमा सवैभन्दा जेष्ठ शिक्षक भरत भट्टराई र होमनाथ पौडेललाई स्वर्गीय टिकाप्रसाद देवका देवी स्मृति पुरस्कारबाट नगद २५०० सहित सम्मान गरिएको छ ।
यस वर्ष शिक्षण पेशाबाट अवकाश हुने कृष्णप्रसाद रिजाल, सुशिला थपलिया, कल्पना भण्डारी, गजेन्द्र नेपाली, मिरा थपलियालाई दीर्घसेवा सम्मानसहित विदाई गरिएको छ भने सरुवा भई बिर्तामोड आएका शिक्षकहरुलाई स्वागत गरिएको थियो ।
नेपाल शिक्षक संघ बिर्तामोडका सभापति जयकुमार प्रसाईंको अध्यक्षता तथा नेपाली कांग्रेसका महासमिति सदस्य तथा जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष प्रसाईंले नेपाल शिक्षक संघ बिर्तामोडले एक वर्षभित्रमा सम्पादन गरेका कार्यहरु साथै आगामी दिनमा गर्नुपर्ने कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने अर्थ सचिव तेजेन्द्र थापाले एक वर्षभरिको आयव्यय सभासमक्ष प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङ, नेपाल शिक्षक महासंघ झापा अध्यक्ष नेत्रप्रसाद खरेल, बिर्तामोड-१० का वडाध्यक्ष दुर्योधन गुरुङ, नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल, मोहनमाया माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ, नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोयानाथ दाहाल, संघीय प्रतिनिधि कृष्णमाया रिजाल, प्रदेश सदस्य भरत भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
सरस्वती दाहालले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव युवराज ढकालले गरेका थिए ।







