बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि २० क्रीकेट प्रतियोगितामा बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका सेमीफाइनलमा प्रबेश गरेका छन् ।
आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई १९८ रनले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ ।
टस जितेर पहिले ब्याटिङको गरेको बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई २५३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । बिर्तामोडका लागी कप्तान समीर कार्कीले ७६ र सुवान्स बजगाईले ६७ रन बनाएका थिए ।
ठूलो लक्ष्य पछ्याउने क्रममा झापा १३.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५४ रन बनाउन सफल भयो । बिर्तामोडलाई बिजय दिलाउन महत्त्वपूर्ण ६ विकेट लिएका बिर्तामोडका बिजय कार्की खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार र ट्रफी प्राप्त गरेका छन् ।
त्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा भद्रपुर नगरपालिकाले कनकाई नगरपालिकालाई ५२ रन अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
पहिले ब्याटिङ गरेको भद्रपुरले कनकाई नगरपालिका सामु २३४ रनको ठूलो योगफल प्रस्तुत गरेको थियो । भद्रपुरले १९ ओभरमा सबै विकेट गुमाए तापनि २३३ रनको विशाल रन बनाउन अङ्कित सुवेदीले आफ्नो सतक बनाउन एक रनले चुके पनि ९९ रनको पारी खेलेका थिए ।
२३४ रनको लक्ष्य पछ्याएको कनकाई नगरपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १८१ रन मात्रै बनाउन सफल भयो । भद्रपुरलाई जित दिलाउन सानदार ९९ रन बनाउनुका साथै ३ विकेट समेत लिएका अङ्कित सुवेदी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ र ट्रफी पाएका छन् ।
त्यसैगरी भोलिको पहिलो खेल अर्जुनधारा नगरपालिका र गौरादह नगरपालिका भिडने छन् भने दिनको दोश्रो खेल चौथो क्वाटरफाइनलमा कचनकवल गाउँपालिका र मेचीनगर नगरपालिका बिच रहने छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।







