सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङको कानेपोखरीमा आयोजित पाँच दिने आधारभूत श्रृंगार तालिमको सम्पन्न भएको छ ।
झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका सेवा केन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर आयोजना गरिएको तालिमको बिहिबार समापन भएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिका-७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी रहेका थिए ।
संस्थाका अध्यक्ष भट्टराईले सिकेको ज्ञानलाई सदुपयोग गर्न आग्रह गर्दै पुंजी अभावकै कारण व्यवसाय सञ्चालनमा समस्या भए संस्थाले आवश्यक कर्जा सहितको सुविधा उपलब्ध गराउने बताए ।
जानुकादेबी प्रधान र हृदयकुमारी संग्रौलाले सहजीकरण गरेको तालिममा मोरङ जिल्ला सेवा केन्द्रहरुबाट ३४ जना महिला शेयर सदस्यहरु सहभागि रहेका थिए । 
कार्यकारी प्रमुख बस्नेतले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन शिक्षा उपसमितिका सदस्य बद्री प्याकुरेलले गरेका थिए ।







