जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।
आज भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराएको हो ।
जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका विनोद भण्डारीले ५८ र सेफ अली जेबले ३२ रन बनाए । जनकपुरका ललित राजवंशी र किशोर महतोले १-१ विकेट लिएका थिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । जनकपुरका जेम्स नीशमले ४५ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएका थिए ।
यो खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्को मौका पाउनेछ । अब जनकपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बिहीबार कर्णाली याक्ससँग खेल्नेछ । यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिमसँग खेल्नेछ ।
त्यस्तै आजै बिहान भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको छ ।
चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा पुगेको हो ।
कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । चितवनका रवि बोपाराले ५३ रन बनाए । कर्णालीका जीशान मक्सूदले ३ तथा कप्तान सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिएका थिए ।
यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो । कर्णालीका जयशिकन कोल्सावालाले ५३, विलियम बोसिस्टोले ५२ र चादविक वाल्टनले नटआउट ४६ रन बनाए । चितवनका सोहिल तानभिरले २ विकेट लिएका थिए ।







