झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
आज भएको उद्घाटन खेलमा आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकर समेत रहेका खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए ।
आर्मीका लागि अर्को गोल खेलको ८२ औँ मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा निरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन् ।
खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित भए । उनले नगद १० हजार पुरस्कार पाएका छन् ।
आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए ।
प्रतियोगितामा नेपालका ९ र भारतको एउटा क्लबको सहभागिता रहेको छ ।







