नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ ।
आज बिहान भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराएको हो । जीतसँगै लुम्बिनीको पाँच खेलमा दुई अङ्क भएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । जीतका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको हो ।
Advertisement
उसका ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाएका थिए । लुम्बिनीका कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए ।
त्यसअघि पौडेलको सर्वाधिक ८० रनको मद्दतमा लुम्बिनीले चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो । साद विन जाफरले ५२ रन बनाए । चितवनका रिजन ढकालले तीन विकेट लिएका थिए ।







